10ᵗʰ National Games

Karnali Province, Surkhet, Nepal

सुर्खेतमा दसौं राष्ट्रिय खेलकुद मूल आयोजक समितिको सचिवालय सञ्चालन

कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुदको तयारीलाई अझ तीव्रता दिने उद्देश्यले सर्खेतको वीरेन्द्रनगरमा फागुन २५ गते दसौं राष्ट्रिय खेलकुद मूल आयोजक समितिको सचिवालय आइतबार उद्घाटन गरिएको छ । वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशाला हातामा सचिवालय स्थापना गरिएको छ । संघ, प्रदेश र स्थानिय तहको प्रतिनिधित्व हुने गरी राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद खेलकुद मन्त्री तेजुलाल चौधरी, कर्णाली प्रदेशका मुख्य मन्त्री यमलाल कँडेल र वीरेन्द्र नगरपालिकाकी मेयर मोहनमाया ढकालले सचिवालयको एक कार्यक्रमबीच संयुक्त रुपमा उद्घाटन गर्नु भयो । कार्यक्रमलाई सम्बोधन गर्दै खेलकुद मन्त्री चौधरीले दसौं राष्ट्रिय खेलकुद अब जेठमै निर्धारण गरिएको मितिमा हुने बताउनु हुँदै सहभागी हुने सबै टिमलाई तयारी गर्न आग्रह गर्नु भयो । उहाँले राष्ट्रिय खेलकुदका लागि खरिद प्रकृया सुरु भइसकेको जानकारी गराउनु हुँदै केही दिनमा नै उपसमिति गठन गरिने बताउनु भयो । उहाँले मौसमको प्रतिकुलतालाई मध्यनगर गरी खेल तालिका बनाइने बताउदै केही खेल राष्ट्रिय खेलकुद सुरु हुन एक साता बाँकी छँदै सञ्चालन गरिने बताउनु भयो । उहाँले सचिवालय स्थापना हुनु राष्ट्रिय खेलकुद जेठ ३ गतेदेखि नै हुने सुनिश्चिता भएको बताउदै राष्ट्रिय खेलकुदलाई सफल बनाउन सबैको साथ र सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नु भयो । मुख्यमन्त्री कँडेलले कर्णाली प्रदेशका लागि दसौं राष्ट्रिय खेलकुद अवसर भएको बताउनु हुँदै सचिवालय उद्घाटनले राष्ट्रिय खेलकुद जेठ ३ मै हुने सन्देश र उत्तर दुवै भएको बताउनु भयो । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले राष्ट्रिय खेलकुद तोकिएकै मितिमा सम्पन्न हुनु पर्नेमा जोड दिनु भयो । वीरेन्द्रनगर नगरपालिकाकी मेयर मोहनमाया ढकालले राष्ट्रिय खेलकुद सफलतापूर्वक सम्पन्न गर्न स्थानिय तहको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नु भयो । राखेपका उपाध्यक्ष ध्रुव आचार्यले राष्ट्रिय खेलकुद सफल बनाउन सम्बन्धित सबैलाई सहयोग गर्न अनुरोध गर्नु भयो । कार्यक्रममा राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, राखेप कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठ, राखेपकी सदस्य नन्दा बस्याल, जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, खेलकर्मीलगायतको उपस्थिति रहेको थियो । यहि फागुन २० गते ललितपुरको सातदाबोटोमा बसेको मूल आयोजक समितिको पहिलो बैठकले सर्खेतमा सचिवालय स्थापना गर्ने निर्णय गरेको थियो ।

  • सचिवालय उद्घाटन

10ᵗʰ National Games

Surkhet, Karnali Province, Nepal


National Sports Council © 2025. All Rights Reserved